निर्मला हत्याकाण्ड:ओलीले भने ‘सरकारले अन्तर्राष्ट्रियस्तरको छानविन गर्न तयारी गर्दै छ’

By | December 28, 2018

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धमा अन्तर्राष्ट्रियस्तरको छानविन गर्न सरकार तयार रहेको बताएका छन् ।स्थायी समिति बैठकमा सदस्यहरुले उठाएका प्रश्न र जिज्ञासाको बिहीवार जवाफ दिने क्रममा ओलीले निर्मला हत्या प्रकरणलाई लिएर सरकारको चौतर्फी आलोचना भएको भन्दै आवश्यक परे अन्तर्राष्टियस्तरको छानविन गर्न सकिने बताएका हुन्

यसअघि निर्मला हत्या प्रकरणमा दोषी पक्रन ढिला भएको भन्दै बुधवार संसदको बैठकमा नेकपा अध्यक्ष प्रचण्डले पनि बोलेका थिए ।

जवाफको अधिकाशं समय सरकारको काम कारवाहीको बचाउ गरेका ओलीले सरकारको काम ‘एक्सिलेन्ट’ भएको दावी गरेका थिए । ओलीले नेवाल वायु सेवा निगमको वाइडवडी खरिद सम्बन्धमा उठेका प्रश्न सम्बन्धमा समिति बनाएर छानविन गर्न सकिने बताएका थिए ।

विमान खरिदमा घोटाला भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो संसदमा बोलेका थिए । ओलीले वाइडवडी खरिदको विषयमा कतै अनियमितता भएको भए छानविन गर्न सकिने बताएका एक स्थायी समिति सदस्यले लोकान्तरलाई जानकारी दिए ।

ओलीको जवाफ चित्त नबुझेपछि वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल लगायतले प्रतिप्रश्न गरेका थिए । यसअघि बोल्ने क्रममा पनि वरिष्ठ नेता वामदेव गौतम तथा प्रभावशाली नेताद्वय भीम रावाल र घनश्याम भुसालले बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनको आलोचना गरेका थिए । गौतमले फरक मत प्रस्तुत गरेका थिए भने रावलले एसिया प्यासेफिक समिटप्रति आपत्ति जनाएका थिए ।

मंसिर २९ गते शुरु भएको स्थायी समिति बैठकमा ४४ जना सदस्यहरुले धारणा राखेका थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बुधवारको बैठकमा जवाफ दिएका थिए । बैठक भोलि बिहान ८ बजे पुनः बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *