जब प्रकाशले ‘दाइ, मलाई बाँच्न पुग्यो, म सुसाइड गर्दैछु, यो मेरो अन्तिम म्यासेज तपाईलाई भन्दै म्यासेज पठाए !

By | June 11, 2019

‘दाइ, मलाई बाँच्न पुग्यो, म सुसाइड गर्दैछु, यो मेरो अन्तिम म्यासेज तपाईलाई ।’ दुई वर्षअघि मध्यरातमा अहिलेका चल्तीका गायक सर्जक प्रकाश सपुतले पठाएको म्यासेजले मेरो निद्रा एकाएक हराम गर्‍यो । रातको १ बजिसकेको थियो ।

अक्सर रातिको फोन र म्यासेज दुवै खतरापूर्ण लाग्छ र फोन पनि उठाउँदिन र म्यासेज पनि रेस्पोन्स गर्दिनँ । तर, यो म्यासेजले मेरो मन मथिंलमा यति ठूलो हलचल ल्याइदियो कि जवाफ नदिइरहन, फोन नगरिरहन सकिनँ । सान्त्वना मिश्रति म्यासेज गरें, जवाफ आएन । दर्जनाैं पटक फोन गरे, फोन उठेन ।

लाग्यो- उनले भनेझै भर्खरै आएको म्यासेज अन्तिम नै भएको हो त ? अब उनको मोवाइलबाट मलाई कहिल्यै म्यासेज, फोन आउँदैन ? म आत्तिए । काँपे पनि । लाग्यो उसलाई काठमाण्डौंको स्वार्थ, आडम्बर र निराशाले जित्यो र अप्रिय निर्णय लिने कठोर बिन्दुमा पुग्यो । र, पनि मैले निराशामा उत्साह, ऊर्जा र प्रेरणा मिल्ने केही म्यासेज पठाइरहे ।

भोलिपल्ट अरु निकटसँग बुझें, त्यसदिन उनी असाध्यै तनाबमा रहेछन् । मलाई अप्ठ्यारो, कठीन क्षणमा उनले निकट सम्झिन्छन्, सम्झिएरै म्यासेज गरे । पछि सम्पर्क हुँदा उनी उस्तै तनावमा थिए ।

आज एक असल नियत, पृथक सिर्जना र शैलीमा काम गर्ने सर्जकका नाममा केही लेख्नैपर्ने महुशुस गरें ।

यो प्रसंग किन उल्लेख गरिरहेको छु भन्दा प्रकाश सपुतको ‘गलबन्दी’ गीत ८० लाखबाट उकालो लाग्दै गर्दा एकाएक भाका मिलेको विषय भाइरल गराइयो । यस्तो प्रयास ‘बोल माया’ र ‘ब्याटल’दुवैमा भयो । यद्यपि ती प्रयत्न आफैं विफल भए ।

अहिले फेरि प्रिय गायक शम्भु राईको देउसी भैलोको चुड्कासँग पुरै मिलेको भनेर जर्बजस्त बिवादित बनाउने प्रयास भइरहेको छ । त्यो शुरुवातमा झट्ट सुन्दा उस्तै लाग्छ । तर, गीतको मध्य, अन्त्य र पुनः उठानमा पृथक छ । यो उनले राईको गीत सुनेरै खराब नियतले बनाए भन्ने त मलाई लाग्दैन । किनकि उनले यसअघि पनि राम्रा सिर्जनामार्फत आफूलाई नेपाली समाजमा कम उमेरमै क्षमतावान गायक, सर्जक र निर्देशकको रुपमा प्रमाणित गरिसकेका छन् । लोक गीत कहिल्यै नसुन्नेहरुलाई पनि सुन्ने बनाएका छन् ।

भाका मिल्यो भन्ने जर्बजस्त लेखिएका समाचार र स्टाटसका प्रतिक्रिया पढ्दा र हेर्दा पनि एकाधबाहेक सपुतको सिर्जनाकै पक्षमा देखिन्छ । यसको यथार्थ विद्वत संगीतज्ञहरुले छुट्याउनुहोला । सच्चिनुपर्ने र महुशुस गर्नुपर्ने ठाउँ हो भने गायक सपुत पनि त्यसका लागि तयार हुनुपर्छ ।

यद्यपि संगीत बजार र त्यसमा पनि लोक लय कतै न कतै मिले जस्तो आभाष भइरहन्छ । यसको अर्थ नियतवस पुराना गित या सिर्जनाको निरन्तरता हुनुपर्छ भन्ने होइन । यस्ता विषयमा दुवै पक्षका वीचमा प्रष्टता, बुझाइ र सिकाई जरुर छ ।

लोक दोहोरी प्रतिष्ठानलगायत संगीत सम्वद्ध धेरै संघ संस्था छन् । जसले यस्ता विषयमा समन्वय, सरलीकरण र नयाँ पुस्तालाई उत्साहित गर्न भुमिका खेल्नुपर्छ । नियतवस गलत गरेको भए आत्मआलोचित महसुस गराउने हैसियत राख्नुपर्छ । न कि अदृश्य रुपमा सामान्य विषयलाई अझ बढी विवादित बनाउने । राम्रा सर्जक र सिर्जना गर्ने सामथ्र्य भएकाहरुलाई निरुत्साहित गर्ने । कोही राम्रो भयो या गायो कि आफ्नो बजारको हिसाव किताव गरेर टीका टिप्पणी गर्ने । यस्तो विषयमा कला सम्वद्ध सघं संस्था र सर्जक वीच गम्भिरता, संवेदनशिलता, प्रष्ट संवाद र बहस आवश्यक छ ।

गायक सपुत भूँइबाट उठेका सर्जक हुन् । उनलाई पर्दा पछाडिका अपवित्र गतिविधि र दृश्य मन पर्दैन । स्वभावका हिसावले छिटो बढी भावुक र निराश हुन्छन् । खराब नियतले काम नगर्ने तर असल उद्देश्य र मनसायले काम गर्दा गर्दै पनि नियोजित रुपमा गर्ने प्रहारको उनी प्रतिकार गर्दैनन् । त्यस्ता विषयमा मौन नै बस्न चाहन्छन् । सामना गर्ने परिस्थिति आए पनि निकै शालिनतापूर्वक प्रयास गर्छन् । जसका कारण कतिपय बिद्धान, अग्रज, समकालिन प्रतिस्पर्धी र नयाँ पुस्ताका युवा सर्जक शुभेच्छुकले यही स्वाभावलाई कमजोरी ठान्छन् र हेयको दृष्टि राखेर अपमानवोध पनि गराउँछन् । यो उनले गाउँदेखि बागलुङ बजार, बागलुङदेखि काठमाण्डौंसम्म पुग्दा सैयौं अनुभूति सँगालेका पनि छन् ।
म जन्म गाउँ र बागलुङ बजारको बसाइ र उनका सबै गतिविधिलाई पछ्याइरहने शुभेच्छुकका हिसावले यति चाहिँ निसन्देह भन्न सक्छु कि प्रकाश सपुत जहाँ जे गर्छन्, त्यो इमान्दारिपूर्वक, सकेसम्म अलि पृथक हिसावले काम गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

यसको पछिल्लो उदाहरण बोल माया, ब्याटल १ र २ र अहिलेको गलबन्दी प्रष्ट छ । तर, कतिपय मानिसलाई यसरी राम्रा प्रयास गरेको, राम्रा सिर्जना गरेको, राम्रा काम गरेको देख्दा, सुन्दा र हेर्दा पनि टाउको दुख्छ । तिमीले इमान्दार प्रयास गर्दा कसैको टाउको दुख्छ भने तिमी निराश नबन । टाउको दुख्नु तिम्रो समस्या होइन, त्यो व्यक्तिको समस्या हो । त्यसको उपचार गर्छ या कुण्ठा पालेर दीर्घरोगी बन्छ, त्यो उसैको जिम्मा छोडिदेऊ ।

तिमी आफ्नै लयमा छौ, जुन लयमा अब हजारले होइन, लाखले होइन, करोडले कसरी पाइला चाल्छौ, कसरी हिड्छौ, कसरी सोच्छौ भनेर परीक्षा लिने परिचय र प्रतिष्ठा आर्जन गरेका छौ । यो तिम्रो ठूलो सम्पति हो । जसलाई उपयोग गर्ने र जोगाइ राख्ने चुनौति र अवसर दुवै तिमीसँग छ ।

अहिले समाज र सामाजिक सञ्जालमा नकरात्मक सोच व्याप्त छ । भाइरलको नयाँ जमाना आएजस्तो दृश्य देखिन्छ । फेरि पनि दोहोर्‍याएर भन्छु-‘मान्छेले ढुंगा त्यहाँ हान्छ, जुन रुखमा फल लागेको छ ।’ तिम्रो उमेरभन्दा अग्लो उचाई तिमीले प्राप्त गरिरहँदा सफलता मात्र तिमीसँग होइन, चुनौतिहरु पनि पछि लागेर आएका छन् ।

एक सेलिब्रेटीका हिसाबले कति आलोचनाहरुलाई तनावको बिषय नबनाई पचाउन पनि सक्नुपर्छ । अब यस्ता सिर्जना गर्दा सम्भावित आरोप, आलोचना र प्रश्नहरुबाट आफूलाई बचाउन पनि सक्नुपर्छ ।

र अन्त्यमा,

अनुपम खेरले भनेका छन् नि- मान्छेका वरिपरि तीन थरिका मान्छे हुन्छन् । कोही हुन्छन्- रुखको पातजस्तै । उनीहरु पनि एक मौसमसम्म साथमा हुन्छन् । अलिकति जोडले बतास चल्यो कि यिनीहरुले साथ छाडिहाल्छन् । केही मान्छे हुन्छन्- रुखका हाँगाजस्तै । पातभन्दा बलिया । यिनीहरु एक मौसमभन्दा धेरै टिक्न सक्छन् । तर, जिन्दगीमा ठूलो हुरी आयो भने यिनीहरुले साथ छोड्छन् । तर, केही मानिस हुन्छन्- रुखका जराजस्तै । यिनीहरु जरा जसरी बाहिर देखिँदैनन् । तर, तपाईलाई बलियो बनाएर राख्छन् । जरा जसरी सम्हालेर संकटसित जुध्ने शक्ति दिन्छन् ।

वरिपरि हेर्नु- तिम्रो जिन्दगीमा कस्ता मानिस छन्- पातजस्ता, हाँगाजस्ता वा जराजस्ता । र, अरुको जिन्दगीमा तिमी के हन चाहन्छौ- पात, हाँगा या जरा ? म र हामी त तिम्रो जिन्दगी र सफलतामा जराजस्तो शुभेच्छुक भएर बस्न चाहन्छौ । पर्दामा दृश्यमा नदेखिने तर, बलियोसँग नेपाली माटोमा तिम्रो सिर्जनाका सुगन्धित फूलहरु फुलाइरहेको हेर्न चाहने । हुन्छ नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *